ट्रेन्डिङ

Logout

रास्वपा केन्द्रीय समितिमा महामन्त्रीको प्रतिवेदन पेस

7.7k Shares

काठमाडौँ, असार १९ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठकमा महामन्त्री मुकुल ढकालको राजनीतिक प्रतिवेदन पेस भएको छ।

बुधबार बसेको सो पार्टीको केन्द्रीय कार्य समिति बैठकमा महामन्त्री ढकालको राजनीतिक प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गर्नुभएको हो। आफ्नो राजनीतिक प्रतिवेदन प्रत्यक्ष प्रसारण हुनुपर्ने माग सम्बोधन नभएपछि महामन्त्री ढकालले मुखमा कालो टेप लगाएर बसेको र उहाँको राजनीतिक प्रतिवेदन सहमहामन्त्री बुर्लाकोटीले प्रस्तुत गर्नुभएको पार्टीका सहप्रवक्ता मनिष झाले जानकारी दिनुभयो। प्रतिवेदनमा पार्टीमा व्यापक सुधारको खाँचो औँल्याइएको छ।

सहप्रवक्ता झाले भन्नुभयो, ‘‘बैठकको सुरुमा पार्टी सभापतिले महामन्त्रीको अनुरोध अनुसार उहाँले लाइभ गर्ने प्रस्ताव राख्नुभयो। तर प्रतिवेदन सभापति बाहेक हामी कसैले पनि हेरेको थिएनौ। तसर्थ राजनीतिक रूपमा हामीले कतिपय कुरा संवेदनशील र रणनीतिक रूपमा बुझ्नुपर्ने हुन्छ। तसर्थ पहिला हामी केन्द्रीय समितिमा त्यो प्रतिवेदन रिभ्यू गरौँ। त्यसमा वाचन गरियोस्। त्यसमा सबैले अभिमत राखौँ। त्यस पश्चात् यसलाई सार्वजनिक गरौँ। सार्वजनिक गरिसके पश्चातको छलफल व्यवहारिक हुँदैन भनेर हामी सबैले सभापतिको जुन प्रस्ताव सभापतिको जुन प्रस्ताव थियो महामन्त्रीको अनुरोध अनुसार लाइभ गर्नुपर्ने। त्यसलाई हामीले नकार्‍यौ। हामी सबै जना सभापति र महामन्त्री बाहेक हात उठाएर मतदान गर्‍यौँ। हामी सबैले हात उठाएर आफ्नो मत राख्दै गर्दा पहिलो यसमा केन्द्रीय समितिमा छलफल होस्।’’

प्रतिवेदन भित्रका कुरा आन्तरिक रूपमा छलफल नभई बाहिर सार्वजनिक गर्न नहुने धारणा केन्द्रीय समितिका सदस्यले राखेपछि महामन्त्री ढकालको सो प्रतिवेदन लाइभ हुन नसकेको रास्वपाले जनाएको छ।

रास्वपाले महामन्त्री ढकाललाई हटाएर सन्तोष परियारलाई महामन्त्री बनाएको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ। सहप्रवक्ता मनिष झाले सो समाचारमा कुनै सत्यता नरहेको प्रस्ट्याउनुभएको हो। उहाँले सोविता गौतमलाई पार्टी संसदीय दलको प्रमुख सचेतक बनाएको भन्नेकुरा पनि सत्य नभएको बताउनुभयो। 

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार