काठमाडौं: पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओलीमाथि कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो विरोधी भएको आरोप लगाएका छन्। प्राइम टिभीको कार्यक्रममा बोल्दै खनालले ओलीले संसद् विघटन गरेर पार्टी विभाजनको बाटो खोलेको र यसले कम्युनिष्ट आन्दोलनलाई नै कमजोर बनाएको बताए।
वर्तमान सरकारको कार्यशैलीप्रति पनि खनालले कडा आलोचना गरे। रवि लामिछानेमाथि प्रशासनले गरेको कारबाहीलाई उनले "खेदो" को संज्ञा दिँदै एउटै व्यक्तिलाई विभिन्न जिल्लामा तानेर दुःख दिने प्रवृत्ति गलत रहेको बताए।
"अहिलेको सरकार पूर्वाग्रही छ," खनालले भने, "वैज्ञानिक समाजवाद नै एकमात्र विकल्प हो र त्यसका लागि क्रान्तिकारी कार्यदिशा आवश्यक छ।" उनले प्रधानमन्त्री ओलीलाई आफ्ना गल्तीहरू सच्याउँदै सबै कम्युनिष्टहरूलाई एकताबद्ध गर्न आग्रह गरे।
सरकारको अध्यादेश फेल भएमा गिरिजाप्रसाद कोइरालाको उदाहरण दिँदै खनालले ओलीलाई राजीनामा दिन सुझाव दिए।