राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबार कारागार चलान हुने भएका छन्। रुपन्देही जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनी सोमबार कारागार पठाइँदै छन्।
शुक्रबार राति काठमाडौँमा पक्राउ परेका लामिछानेलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो।
संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार उनलाई थुनामा पठाउन आदेश दिएको थियो। सोही आदेशपछि प्रहरीले तत्काल सक्रियता देखाउँदै शुक्रबार राति नै उनलाई बूढानीलकण्ठस्थित निवासबाट पक्राउ गरेको हो।
शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएका लामिछानेलाई शनिबार बिहान जहाजबाट भैरहवा पुर्याइएको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शनिबार र आइतबार बिदा भएकाले उनलाई प्रहरी हिरासतमै राखिएको थियो।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटी माग गरेको थियो। तर, उच्च अदालतले उक्त आदेश उल्ट्याउँदै थुनामा पठाउने निर्णय गरेपछि लामिछाने सोमबार जिल्ला कारागार भैरहवा चलान हुन लागेका हुन्।