ट्रेन्डिङ

Logout

भारतको जम्मु–कश्मिरमा पर्यटकमाथि हमला, एक नेपालीसहित कम्तीमा २६ को मृत्यु

12.3k Shares

जम्मू-कश्मीर– भारतको जम्मू-कश्मीरस्थित पहलगाममा भएको बन्दुकधारी आक्रमणमा एक नेपालीसहित २६ भन्दा बढी पर्यटकको मृत्यु भएको छ। सन् २०१९ को पुलवामा आक्रमणपछि यो क्षेत्रमा भएको यो सबैभन्दा ठूलो बन्दुकधारी हमला हो।


भारतीय सञ्चारमाध्यमहरूले २६ भन्दा बढीको मृत्यु भएको उल्लेख गरे पनि स्थानीय प्रशासनले हाल १६ जनाको मृत्यु पुष्टि गरेको छ। यद्यपि, मृतकको संख्या अझै बढ्न सक्ने प्रशासनको भनाइ छ। मृत्यु हुनेमा नेपालका सन्दीप न्यौपाने र युएईका उद्वानी प्रदीप कुमार रहेको पुष्टि भएको छ। अन्य मृतकहरू भारतका आन्तरिक पर्यटक हुन्।


आक्रमण मंगलबार दिउँसो २:४५ बजे पहलगामको बैसरन उपत्यकामा भएको थियो। मिडिया रिपोर्टअनुसार, बन्दुकधारीहरूले एक पर्यटकको नाम सोधेपछि उनको टाउकोमा गोली हानेका थिए। त्यसपछि अन्य पर्यटकमाथि अन्धाधुन्ध गोली चलाउँदै उनीहरू भागेका थिए। करिब ५० राउन्ड गोली चलाइएको बताइएको छ। यो आक्रमणको जिम्मेवारी आतङ्कवादी समूह लश्कर-ए-तैयबाले लिएको छ।


घटनामा २० भन्दा बढी व्यक्ति घाइते भएका छन्। आक्रमणपछि सुरक्षा बलले घटनास्थललाई घेराबन्दीमा लिएको छ, र हेलिकप्टरमार्फत क्षेत्रको निगरानी भइरहेको छ। भारतीय मिडियाका अनुसार आक्रमणमा चार बन्दुकधारी संलग्न थिए, जसमध्ये तीन जना पाकिस्तानी र एक जना स्थानीय कश्मीरी भएको अनुमान गरिएको छ।

attack-list.jpg
भारत सरकारले मृतक र घाइतेको नामावली सार्वजनिक गरेको छ। घटनाले जम्मू-कश्मीरको पर्यटन क्षेत्रमा गम्भीर असर पारेको छ, र सुरक्षा व्यवस्थालाई थप कडा बनाइएको छ। यो आक्रमणले क्षेत्रीय तनावलाई पुनः सतहमा ल्याएको विश्लेषकहरूले बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार