ट्रेन्डिङ

Logout

भारत र पाकिस्तान युद्धविरामका लागि सहमत, आज साँझ ५ बजेदेखि लागू

7.3k Shares


काठमाडौँ। भारत र पाकिस्तानबीच युद्धविरामका लागि सहमति भएको छ। भारतीय विदेश सचिव विक्रम मिस्रीले शनिबार (मे १०) साँझ यो सहमति भएको पुष्टि गर्नुभएको छ। दुवै देशबीच आज साँझ ५ बजेदेखि युद्धविराम लागू भएको छ। 


विदेश सचिव मिस्रीका अनुसार, पाकिस्तानका डाइरेक्टर जनरल अफ मिलिट्री अपरेसन्स (डीजीएमओ) ले भारतीय डीजीएमओलाई दिउँसो ३:३५ बजे फोन गरी साँझ ५ बजेपछि सबै प्रकारका गोलीबारी र सैन्य कारबाही रोक्ने सहमति भएको हो। दुवै देशका डीजीएमओबीच मे १२ मा पुनः कुराकानी हुने मिस्रीले बताउनुभयो। 


यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ दिल्ली र इस्लामाबादले ‘पूर्ण र तत्काल’ युद्धविराममा सहमति जनाएको दाबी गर्नुभएको थियो। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा ट्रम्पले लेख्नुभयो, “अमेरिकाको मध्यस्थतामा भएको लामो छलफलपछि, मलाई भारत र पाकिस्तानले पूर्ण र तत्काल युद्धविराममा सहमति जनाएको घोषणा गर्न खुशी लागेको छ।” उनले यो निर्णयलाई ‘विवेकपूर्ण’ भन्दै दुवै देशलाई बधाई दिनुभयो। 


ट्रम्पको पोस्टको केही मिनेटपछि पाकिस्तानी विदेशमन्त्री इशाक डारले तत्काल प्रभावबाट युद्धविराममा सहमति भएको बताउनुभयो। “पाकिस्तान सधैँ क्षेत्रीय शान्ति र सुरक्षाका लागि प्रयासरत छ, आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी,” डारले भने। 


अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जाल एक्समा लेख्नुभयो, “पछिल्लो ४८ घण्टामा उपराष्ट्रपति भेन्स र मैले भारत र पाकिस्तानका वरिष्ठ अधिकारीहरूसँग कुराकानी गरेका छौँ, जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफ, भारतीय विदेशमन्त्री एस. जयशङ्कर, पाकिस्तानी सेना प्रमुख असीम मुनीर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र असीम मलिक समावेश छन्। भारत र पाकिस्तानले तत्काल युद्धविराम र वार्ता सुरु गर्न सहमति जनाएको घोषणा गर्न पाउँदा खुशी छु। हामी मोदी र शरिफको दूरदर्शिता र शान्तिको बाटो रोज्ने नेतृत्वको प्रशंसा गर्छौँ।” 


रुबियोको पोस्ट सेयर गर्दै उपराष्ट्रपति भेन्सले अमेरिकाको मध्यस्थताको भूमिकाको प्रशंसा गर्नुभयो। दुई दिनअघि (मे ८) फक्स न्युजसँगको अन्तर्वार्तामा भेन्सले भारत–पाकिस्तान तनावबारे भनेका थिए, “हामी युद्धको बीचमा प्रवेश गर्दैनौँ, यो हाम्रो काम होइन र यसमा अमेरिकाको नियन्त्रण क्षमतासँग कुनै सम्बन्ध छैन।”

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार