काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुहुने भएको छ। प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार, आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथिका जिज्ञासाहरूको जवाफ दिने सम्भावित कार्यसूची तय भएको छ।
बैठकमा नीति तथा कार्यक्रममाथि दर्ता भएका ३७ वटा संशोधन प्रस्तावहरू (एकल र संयुक्त) लाई निर्णयार्थ पेश गरिने छ। वैशाख २२ गतेदेखि प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको थियो।
यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (कर प्रस्तावबाहेक) छलफलका लागि प्रस्ताव पेश गर्नुहुने छ।
राष्ट्रियसभामा पनि प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची तय भएको छ। जवाफपछि संशोधन प्रस्तावहरूलाई निर्णयार्थ पेश गरी आजै पारित गर्ने योजना छ। राष्ट्रियसभामा पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलका लागि प्रस्ताव पेश गर्ने कार्यसूची निर्धारण गरिएको छ। राष्ट्रियसभाको बैठक आज दिउँसो १:१५ बजे बस्ने तय भएको छ।