काठमाडौँ। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पटक–पटकको सहमतिपछि फेरि नयाँ ट्वीस्ट देखिएको छ। नेपाली कांग्रेसको भागमा परेको भनिएको गभर्नर पदमा डा. गुणाकर भट्टको नियुक्ति नहुने भएपछि कांग्रेसले अर्थशास्त्री विश्व पौडेललाई अघि सारेको छ।
सत्ता साझेदार नेपाली कांग्रेसले भट्टलाई गभर्नर बनाउन प्रस्ताव गरे पनि उनको राजीनामा कायममुकायम गभर्नर डा. नीलम ढुङ्गानाले स्वीकृत गरेकी छैनन्। भट्टको राजीनामा स्वीकृत नभएपछि कांग्रेसले पछिल्लो समय विश्व पौडेललाई गभर्नरमा सिफारिस गर्ने प्रस्ताव अघि सारेको छ।
गत चैत २४ गते गभर्नर महाप्रसाद अधिकारीको सेवा अवधि सकिएको नौ दिनपछि वैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो। त्यसअनुसार वैशाख ५ गते भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। तर, कायममुकायम गभर्नर ढुङ्गानाले, जो स्वयम् गभर्नरको आकांक्षी छिन्, उक्त राजीनामा स्वीकृत गरिनन्।
शनिबार बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताहरूको बैठकमा ढुङ्गानाले भट्टको राजीनामा स्वीकृत नगरे कांग्रेसले विश्व पौडेललाई अघि सार्ने जानकारी गराइएको थियो। पौडेल हाल गभर्नर सिफारिस समितिका सदस्य छन्। उनलाई समितिबाट राजीनामा गराएर गभर्नरमा सिफारिस गर्ने कांग्रेसको तयारी छ। यो विषयमा शनिबार साँझ प्रधानमन्त्रीलाई जानकारी दिइएको छ।
शुक्रबारको कांग्रेस पदाधिकारी बैठकमा सभापति देउवाले भट्टको राजीनामा स्वीकृत नभएको र उनलाई राजीनामा बिना पठाउँदा प्राविधिक समस्या आउन सक्ने बताउनुभएको थियो।
गभर्नर सिफारिस समितिमा अब दुई नयाँ सदस्य राख्ने तयारी छ। हालै समितिका सदस्य बनेका महाप्रसाद अधिकारीविरुद्ध योग्यताको प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट परेको छ। यसअघि नबिल बैंकका पूर्वसीईओ ज्ञानेन्द्र ढुङ्गानालाई गभर्नरमा सिफारिस गर्ने चर्चा पनि चलेको थियो।
राष्ट्र बैंक गभर्नरविहीन भएको एक महिना बितिसक्दा पनि नियुक्तिमा ढिलाइ हुँदा सरकारको चर्को आलोचना भइरहेको छ। कानुनी प्रावधानअनुसार गभर्नरको पदावधि सकिनुभन्दा एक महिनाअघि नयाँ नियुक्ति गरिसक्नुपर्ने भए पनि दलहरूबीचको राजनीतिक दाउपेचले प्रक्रिया अवरुद्ध भएको छ।