नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षायाममा हुन सक्ने पहिरोको जोखिम पहिचान गरी रोकथामका कार्यहरू सुरु गरिएको छ । गत वर्ष असारमा सिमलतालमा दुईवटा बस पहिरोले बगाएको घटनापछि यस्ता दुर्घटना दोहोरिन नदिन सावधानी अपनाइएको छ ।
भरतपुर डिभिजन सडक कार्यालयका प्रमुख इञ्जिनिएर नारायण लामिछानेका अनुसार जोखिमयुक्त ठाउँहरूमा पहिरो नियन्त्रणका कार्यहरू भइरहेका छन् । सिमलतालको माथिल्लो भागमा लेदो बग्ने समस्यालाई रोक्न साना–साना चेक ड्यामहरू निर्माण गरिएको छ । त्यस्तै, मौरी खोला पुलको माथिल्लो भागमा चेक ड्याम र खोल्सो लाइनिङको काम सम्पन्न भएको छ ।
कालीखोलालगायत अन्य जोखिमपूर्ण क्षेत्रहरूमा पनि आवश्यकताअनुसार पहिरो रोकथामका कार्यहरू गरिएको लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष पहिरोले कुनै क्षति नपुर्याओस् भन्ने हाम्रो अपेक्षा छ ।” यदि पहिरो गएमा तुरुन्त पन्छाउन उपयुक्त व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।
सडक कार्यालयले सेतीदोभान क्याम्पमा ब्याकहो लोडर, ट्रक, स्काभेटर, लोडर र मिनी टिपरजस्ता उपकरणहरू तयारी अवस्थामा राखेको छ । यस्तै, भरतपुर कार्यालयमा पनि यी उपकरणहरू तयारी हालतमा छन् ।
प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले पहिरो नियन्त्रण र सम्भावित पहिरो तुरुन्त हटाउन आवश्यक तयारी गरिएको बताउनुभयो । डिभिजन सडक कार्यालय र सुरक्षा निकायका अधिकारीहरूबीच छलफल गरी तयारीका कार्यहरू अगाडि बढाइएको उहाँले उल्लेख गर्नुभयो । गत वर्ष असार २८ गते रात्रीकालीन दुई बस पहिरोले बगाउँदा करिब ६२ जना प्रभावित भएका थिए, जसमध्ये केही अझै बेपत्ता छन् र ती बसहरू पनि फेला परेका छैनन् ।