ट्रेन्डिङ

Logout

सिरहा भ्रष्टाचार काण्ड: नवराजपुरका पूर्वअध्यक्षसहित १३ जनाविरुद्ध अख्तियारको मुद्दा

5.3k Shares

काठमाडौँ, जेठ १५, २०८२। सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

विशेष अदालतमा दायर गरिएको मुद्दामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इञ्जिनियर कृष्णा साह, सबइञ्जिनियर जयनारायण यादव, लेखापाल सोमप्रसाद आचार्य, वडा नं. ४ र ५ का तत्कालीन अध्यक्षहरू मदन यादव र मनोजकुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि, र जिन्सी शाखा प्रमुख सञ्जयप्रसाद यादवलाई प्रतिवादी बनाइएको छ। साथै, भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र यादव, सचिव दीपेन्द्रकुमार यादव, र कोषाध्यक्ष कोशीलादेवी यादवविरुद्ध पनि मुद्दा दायर भएको छ।

आयोगका अनुसार, गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयारीदेखि भुक्तानीसम्मका प्रक्रियामा अनियमितता भएको छ। ३७ लाख ७५ हजार ४३६ रुपियाँको लागतमा उपभोक्ता समितिमार्फत निर्माण गर्ने गरी २०७७ जेठ ३२ मा सम्झौता भएको थियो। तर, गलत प्राविधिक मूल्याङ्कनका आधारमा उपभोक्ता समितिलाई ३४ लाख ३९ हजार १८९ रुपियाँ भुक्तानी गरिएको र भवन उपयोगविहीन भएको आरोप छ। अख्तियारले निर्माण कार्यमा गुणस्तरमा प्रश्न उठेको र प्रक्रिया मिचिएको ठहर गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार