गत चैत १५ गतेको हिंसात्मक प्रदर्शनपछि राजावादी आन्दोलन पुनः चर्किने सम्भावना बढेको छ। राजतन्त्र र हिन्दूराज्य पुनर्स्थापनाको माग गर्दै राजावादी समूहले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्।
सोही दिन नेकपा एमालेले गणतन्त्र दिवस मनाउने तयारी गरिरहेको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँलाई आफ्नो पार्टीको नियन्त्रणमा राख्न निर्देशन दिइसकेका छन्। तर, यी दुई पक्षका कार्यक्रमहरू कहाँ आयोजना हुने भन्ने अहिलेसम्म निश्चित भइसकेको छैन।
काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी अशोककुमार भण्डारीका अनुसार, नेकपा एमालेले भृकुटीमण्डप, रत्नपार्क र पुतलीसडक क्षेत्र कार्यक्रमका लागि माग गरेको छ। "जिल्ला सुरक्षा समितिको बैठक आज दिउँसो बस्नेछ," भण्डारीले भने, "त्यसपछि निर्णय गरिनेछ।"
राजावादी आन्दोलन यसपटक संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीको नेतृत्वमा हुने बताइएको छ। राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीका अनुसार, आन्दोलनको कार्यक्रमका लागि कोहीसँग अनुमति लिनुपर्ने आवश्यकता छैन। शान्तिबाटिकामा दिउँसो १२ बजे भेला भई शान्तिपूर्ण ढंगमा आन्दोलन सुरु गरिने र देशभर स्वतःस्फूर्त रूपमा धर्ना, जुलुस र जनप्रदर्शनहरू गरिने जानकारी उनले दिए।
गत चैत १५ को प्रदर्शन हिंसात्मक बनेपछि त्यसमा संलग्नहरूविरुद्ध मुद्दा दायर गरिएको छ। सरकारी वकिलको कार्यालयले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री एवं सांसद धवलशमशेर जबरा, दुर्गाप्रसाद प्रसाईंसहित ५० जनामाथि मुद्दा चलाएको छ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ अनुसार अभियोग पत्र दायर गरिएको छ। तीमध्ये ११ जनामाथि आपराधिक उपद्रवको मुद्दा र अन्यमाथि व्यक्ति विशेषसम्बन्धी मुद्दा दर्ता भएको छ। हाल जिल्ला अदालतमा बयान प्रक्रिया सुरु भइसकेको छ।
यसै क्रममा, चारजना नाबालकविरुद्ध पनि बाल अदालतमा मुद्दा दायर गरिएको छ। प्रदर्शनको क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का २९ वर्षीय सबिन महर्जनको मृत्यु भएको थियो भने प्रहरीको गोली लागेर २० जना प्रदर्शनकारी घाइते भएका थिए।