ट्रेन्डिङ

Logout

चार वर्षपछि नेपाली डेमु रेल मर्मतका लागि भारत पठाइँदै, भारतको रेलबाट अस्थायी सेवा सञ्चालन

5.1k Shares

नेपालले चार वर्षअघि भारतबाट किनेको दुई सेट डेमु रेल पहिलोपटक मर्मतका लागि भारत पठाउन लागेको छ। नेपाल रेल्वे कम्पनीका अनुसार दुवै रेल सेट आइतबार लखनउस्थित भारतीय रेल्वेको वर्कसपमा ‘पिरोडिकल ओभरहलिङ’ (पीओएच) मर्मतका लागि पठाइँदै छन्।

कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जन झाका अनुसार, यो मर्मत कार्य अन्तर्गत रेलका सम्पूर्ण भागहरू – चक्का, इञ्जिन, बोगी, सिट आदिको परीक्षण र मर्मत गरिनेछ। झाका अनुसार, “यो नियमित प्रक्रिया हो जसमा रेलका सबै भाग खोलेर मर्मत गरिन्छ।” मर्मत अवधि भर नेपालमा भारतले पठाएको एक सेट रेल प्रयोग हुनेछ।

कम्पनीका निमित्त प्रशासकीय अधिकृत तुला डाँगीका अनुसार, नेपाली रेलको एसी बोगीका केही सिटहरू च्यातिएका र बिग्रिएका छन्, जुन मर्मतपछि सुधारिनेछन्।

भारतले सुरुमा मर्मत र रुटको खर्चको दाबी गरे पनि अन्ततः मर्मत, रेल्वे रुट, र मर्मत अवधिमा उपलब्ध गराइने रेलको पनि कुनै खर्च नलिने जनाएको छ।

मर्मत अवधिमा नेपालमा चल्ने भारतीय रेलमा एसी बोगी भने नरहेको जानकारी प्रबन्ध सञ्चालक झाले दिएका छन्। “भारतले पठाएको रेलमा केवल जनरल कोच छन्, एसी कोच छैनन्,” उनले भने। यस अवधिमा भारतले पठाएको रेलमार्फत जयनगर–जनकपुर खण्डमा दैनिक तीनपटक र जनकपुर–भंगहा खण्डमा दैनिक एकपटक सेवा सञ्चालन हुने बताइएको छ।

भारतले पठाएको आईसीएफ मोडलको सकुरबस्ती रेल बिहीबार नै धनुषाको इनर्वामा आइपुगेको छ। डाँगीका अनुसार, उक्त रेलमा सिंगल इञ्जिनसहित ६ वटा जनरल बोगी छन्, जसमा दुवैतर्फ इञ्जिन जडान गर्न मिल्ने सुविधा भए पनि अहिले सिंगल इञ्जिनबाटै रेल सञ्चालन गरिनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार