नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरूको बैठक बोलाएका छन् । प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकिरहेको अवस्थामा प्रचण्डले संसद् भवन, नयाँ बानेश्वरमा मध्याह्न १२ बजे बैठक आह्वान गरेका हुन् । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले यो जानकारी दिए ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै आएका छन्, तर सत्तापक्ष यसमा सहमत भएको छैन । यो मुद्दाले जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक प्रभावित छ । जेठ १५ मा विपक्षी दलहरूले बजेट प्रस्तुतिमा अवरोध नगरे पनि त्यसयता बजेटमाथिको छलफल हुन सकेको छैन ।
शनिवार सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डबीच भएको भेटवार्तामा संसद्को गतिरोध हटाउने विषयमा छलफल भएको थियो । प्रचण्डले विपक्षी दलहरूलाई सत्तापक्षसँगको संवादबारे जानकारी गराउनेछन् ।