नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई न्यायाधीश पदमा नियुक्त नहुन सुझाव दिएका छन्। पोखरेलको विगतको सक्रिय राजनीतिक संलग्नता र व्यापारिक घरानाबाट प्रभावित भएको भन्दै बर्तौलाले यस्तो सुझाव दिएका हुन्।
संसदीय सुनुवाइ समितिको बैठकमा पोखरेलका योजना सुनेपछि बर्तौलाले उनलाई न्यायाधीश बन्ने प्रक्रियाबाट अलग हुन आग्रह गरे। “मेरो व्यक्तिगत मत के हो भने यो प्रक्रियाबाट तपाईं अलग्गिनु राम्रो हुन्छ,” बर्तौलाले भने, “तपाईं योभन्दा अगाडि नजाने गरी बाहिरिनुस्, यो मेरो व्यक्तिगत सुझाव हो।”
बर्तौलाले पोखरेलमाथि व्यवसायिक घरानाको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक बनेको र व्यापारिक हितमा काम गरेको आरोप लगाए। “तपाईं विशेष गरी राजनीतिक आवरणमा विभिन्न जिम्मेवारीमा रहँदा पनि तपाईंको हृदय केही चर्चित व्यवसायिक घरानाबाट प्रभावित छ भन्ने प्रश्न छ,” उनले भने। “यो कुरा कानुन, न्यायिक र व्यवसायिक क्षेत्रमा तपाईंमाथि लाग्ने गरेको छ।”
उनले थप प्रश्न गरे, “व्यवसायिक घरानाहरूप्रति बफादार भएर तपाईंले वकालतभन्दा पनि उनीहरूको प्रतिनिधिको रूपमा काम गर्नुहुन्छ भन्ने बुझाइ छ। यो गलत हो भन्ने कसरी प्रमाणित गर्नुहुन्छ?”
बर्तौलाले हरिकृष्ण कार्की कार्यवाहक प्रधानन्यायाधीश हुँदा तत्कालीन सर्वोच्च बारको अध्यक्ष रहेका पोखरेलले कार्कीमाथि प्रश्न उठाएको र व्यवसायिक हितका लागि काम गर्ने अभिव्यक्ति दिएको स्मरण गरे। उनले भने, “प्रस्तावित न्यायाधीश बन्ने बित्तिकै सात महिनाअघिको प्रतिबद्धता च्यातेर हिँड्न मिल्छ? यदि त्यसो गर्नुभयो भने भविष्यमा न्यायिक क्षेत्रमा विचलन आउँदैन भन्ने सुनिश्चितता कसरी हुन्छ?”
पोखरेलले सुनुवाइ समितिमा आफ्ना योजनाहरू प्रस्तुत गर्दै सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन भएमा राजनीतिक पहिरन त्याग्ने प्रतिबद्धता जनाएका थिए।