ट्रेन्डिङ

Logout

चुरियामाई मन्दिर नजिकै ट्रक दुर्घटना, चालकको तीन घण्टापछि उद्धार

6.8k Shares

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ चुरियामाई मन्दिरको जङ्गलमा दुई ट्रक एकआपसमा ठोक्किँदा भएको दुर्घटनाबाट चालकलाई तीन घण्टापछि उद्धार गरिएको छ।

आइतबार राति एउटै दिशामा जाँदै गरेका दुई ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले बताउनुभयो। स्टेरिङमा च्यापिएका चालकलाई ट्रकको झ्याल काटेर तीन घण्टापछि उद्धार गरिएको उहाँले जानकारी दिनुभयो।

दुर्घटनामा चितवनको भरतपुर उपमहानगरपालिका–१६ बस्ने अन्दाजी ३५ वर्षीय चालक अरुण श्रेष्ठ घाइते भएका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरबाट प्रहरी निरीक्षक अनिल कार्कीको नेतृत्वमा खटिएको टोलीले उद्धार गरेको हो।

हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०१ नम्बरको ट्रकलाई सोही दिशाको ना ६ ख ३७६३ नम्बरको ट्रकले ठक्कर दिँदा दुवै ट्रक सडकको बायाँतर्फ पल्टिएका थिए। घाइते चालक श्रेष्ठ ना ६ ख ३७६३ नम्बरको ट्रकका चालक हुन्।

उद्धारपछि श्रेष्ठलाई उपचारका लागि हेटौँडा जिल्ला अस्पताल पठाइएको छ। अर्को ट्रकका चालक भने सामान्य अवस्थामा छन्। दुबै ट्रकमा चालकबाहेक अन्य कोही थिएनन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार