ट्रेन्डिङ

Logout

सभामुख घिमिरेको जोड: संसद्लाई जनमुखी, परिणाममुखी र जनआस्थाको केन्द्र बनाउनु आवश्यक

6.6k Shares

सभामुख देवराज घिमिरेले संसद्लाई जनताको पक्षमा निर्णय लिने र व्यवस्थाप्रति जनआस्था मजबुत बनाउने संस्थाको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

सोमबार काठमाडौँमा आयोजित संसद् दिवस २०८२ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद् केवल बहस, भाषण र नाराबाजीको मञ्च नबनी, कार्य सम्पादन र परिणाममुखी निर्णय लिने थलो बन्नुपर्नेमा जोड दिए।

उनले भने, "संसद् भाषण र नाराबाजी गर्ने ठाउँ मात्र होइन, यो कार्य गर्ने, निर्णय लिने र जनताले अनुभूति गर्ने परिणाम दिने मञ्च बन्नुपर्छ। संसद्ले जनताको आस्था बलियो बनाउने दिशामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ।"

सभामुख घिमिरेले गणतन्त्रप्रति बढ्दै गएको जनवितृष्णालाई रोक्न संसद्ले सशक्त भूमिका खेल्नुपर्ने बताएका छन्। उनका अनुसार, गणतन्त्रलाई कमजोर बनाउने प्रयासहरूलाई संसद्ले निष्फल बनाउँदै जनआस्था कायम राख्नुपर्ने वर्तमान आवश्यकता हो।

उनले पूर्वसांसदहरूको अनुभव, ज्ञान र क्षमताको सदुपयोग गर्दै अहिलेका बहुआयामिक चुनौतीहरूको सामना गर्नुपर्ने बताए। "पूर्वसांसदहरूसँगको अनुभव वर्तमान सन्दर्भमा निकै उपयोगी हुन सक्छ। त्यसका लागि संसद् र सरकारले थप सक्रियता देखाउनुपर्छ," सभामुखको भनाइ थियो।

सभामुख घिमिरेले संसद्लाई प्रभावकारी बनाउने सन्दर्भमा सशक्त सचिवालयको आवश्यकता रहेको पनि औँल्याए। संसदीय प्रणालीमाथि प्रश्न उठ्ने अवस्था सिर्जना भइरहेकाले त्यसको संरक्षण र सुदृढीकरणका लागि सबै पक्ष एकजुट हुनुपर्ने उनले बताए।

 
फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार