अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा काल्पनिक दुर्गा मावि प्राविको नाममा भवन निर्माणको बहानामा भ्रष्टाचार गरेको अभियोगमा चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार, हालको ठूलीभेरी नगरपालिका–४, तिप्लामा दुर्गा प्रावि नामको कुनै विद्यालय अस्तित्वमा नै छैन। त्यहाँ केवल श्री लालिगुराँस आधारभूत विद्यालय सञ्चालित छ, जसका लागि आर्थिक वर्ष २०६७/०६८ मा भवन निर्माणको कुनै बजेट विनियोजन भएको थिएन र भवन पनि बनेको छैन।
आयोगले गरेको अनुसन्धानमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय डोल्पाका प्रमुख इन्जिनियर रविचन्द्र पजियार, लेखपाल मनिराम कुर्मी, फर्जी निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढाले काल्पनिक विद्यालयको उपभोक्ता समिति गठन गरी जस्ता–छानासहितको दुई कोठे भवन निर्माणको नाममा नक्कली कागजात तयार पारी ७ लाख ६० हजार रुपैयाँ अनियमितता गरेको पाइएको छ। उक्त रकम चेकमार्फत भुक्तानी लिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम चारै जनाविरुद्ध कैद र रकम असुलीको मागसहित अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।