ट्रेन्डिङ

Logout

मुस्ताङमा बाढीको जोखिम: समयमै सूचनाले जोगियो मानवीय क्षति

5.3k Shares

मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ का वडा सदस्य नच्छुङ गुरूङले मङ्गलबार साँझ करिब ५ बजे छुहामा खोलामा लेदोसहितको बाढी देखेपछि तुरुन्त गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङलाई खबर गर्नुभयो।

बाढीको सूचना प्राप्त हुनासाथ अध्यक्ष गुरूङले प्रभावित वडाका जनप्रतिनिधि र स्थानीयलाई जानकारी गराउनुभयो। वडा नम्बर १ का अध्यक्ष पेमा आङ्ग्या गुरुङ र वडा नम्बर २ का अध्यक्ष कर्म नाम्ग्याल गुरुङले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गर्नुभयो।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले बाढीको सूचना पाएलगत्तै नदी र खोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गर्नुभयो।

गाउँपालिका अध्यक्ष गुरूङका अनुसार, बाढीको सूचना समयमै प्राप्त भएकाले मानवीय क्षति हुनबाट जोगियो। उहाँले भन्नुभयो, “समयमै सूचना नआएको भए ठूलो क्षति हुन सक्थ्यो, किनभने खोलाले पाँचवटा काठे पुल बगाएको छ। अब हामी जोखिम क्षेत्रमा थप सतर्कता अपनाउँछौँ।”

मुस्ताङमा खोला र नदीबाट बस्ती जोगाउन बलियो संरचना अभावले पानीको बहाव बढ्दा तटीय क्षेत्रमा क्षति हुने गरेको छ। उपल्लो मुस्ताङमा भेडाच्याङ्ग्राको चरन क्षेत्र तटीय भागमा पर्छ। अध्यक्ष गुरूङको नेतृत्वमा क्षतिको विवरण सङ्कलन गर्न बाढी प्रभावित क्षेत्रमा टोली खटिएको छ।

सफा मौसम र वर्षा नभएको अवस्थामा तिब्बती क्षेत्रबाट अचानक आएको बाढीले उपल्लो मुस्ताङका बासिन्दा त्रसित भए। प्रमुख जिल्ला अधिकारी भुषालले चुमजुङ हुँदै बग्ने खोलामा बाढीको सूचना समयमै प्राप्त भएकाले पूर्वतयारी सहज भएको बताउनुभयो। उहाँले भन्नुभयो, “विपद् व्यवस्थापनमा प्रभावकारी सूचना पहिलो आधार हो।”

तिब्बत सीमामा भीषण वर्षाको आशङ्का गरिए पनि चिनियाँ अधिकारीले वर्षाको पुष्टि गर्न सकेका छैनन्। बाढीको जोखिमलाई मध्यनजर गर्दै म्याग्दी, बागलुङ र पर्वतमा कालीगण्डकी नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरिएको छ। बुधबार बिहान जोमसोम आसपास र थासाङ गाउँपालिकामा भारी वर्षा भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार