ट्रेन्डिङ

Logout

नेकपा एकीकृत समाजवादी र वामदेव गौतमबिच पार्टी एकता सहमति, गौतम तेस्रो वरीयतामा

4.9k Shares

नेकपा एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबिच पार्टी एकताको सहमति भएको छ। शुक्रबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अभियानका अध्यक्ष वामदेव गौतमबिच भएको छलफलमा गौतमलाई एकीकृत पार्टीमा तेस्रो वरीयताको वरिष्ठ नेता बनाउने निर्णय भएको छ।

एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले रातोपाटीलाई दिएको जानकारीअनुसार, पार्टीको विधानमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता र वरिष्ठ उपाध्यक्ष पदहरूको व्यवस्था छ। हाल माधव नेपाल पहिलो, सम्मानित नेता झलनाथ खनाल दोस्रो र राजेन्द्र पाण्डे तेस्रो वरीयतामा छन्। गौतमले खनालपछिको तेस्रो वरीयता प्राप्त गर्नेछन्।

ज्वालाका अनुसार, साउन २ गते एकता घोषणा सभामा गौतमसँगै आउने अन्य नेताहरूको पदीय जिम्मेवारी टुङ्गो लाग्नेछ। गौतमले एकीकृत समाजवादीको कार्यदिशा, विचार र सिद्धान्तलाई स्वीकार गर्दै एकता गर्ने निर्णय गरेको बताए। उनले भने, “साउन २ गते एकता घोषणा हुन्छ, एकीकृत समाजवादीमै हामी समाहित हुन्छौँ।”

यसअघि, गौतमले नेकपा विभाजनपछि कुनै पनि पक्षमा नलागी एकता अभियान चलाएका थिए। उनले एकीकृत समाजवादीमा सहभागी हुने प्रयास गरे पनि पदको विषयमा सहमति नहुँदा एमालेसँग छलफल गरेका थिए। तर, एमालेले उनलाई खासै प्राथमिकता नदिएपछि अन्ततः उनी माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादीमा समाहित भएका छन्।

२०७८ मा नेकपा एमाले विभाजित हुँदा गौतमले ओलीसँग असन्तुष्टि जनाउँदै पार्टी छाडेका थिए। त्यसबेला माधव नेपालले एकीकृत समाजवादी गठन गरे पनि गौतम अलग्गै बसेका थिए। नेकपाकालमा ओली र प्रचण्डबिचको अन्तरविरोधमा गौतम प्रचण्ड र माधवतिर ढल्किएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार