पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका–५ घुर्बिसेमा निर्माणाधीन सेफ्टिक ट्यांकीमा काम गर्ने क्रममा एक मजदुरको ज्यान गएको छ भने दुई जना अझै बेहोस अवस्थामा छन्।
बुधबार साँझ घुर्बिसे पञ्चमी सहकारी संस्था निर्माण गरिरहेको सेफ्टिक ट्यांकीमा काम गर्दा तीन जना मजदुर बेहोस भएका थिए। जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी हेमन्त भण्डारीका अनुसार, मृत्यु हुनेमा ३८ वर्षीय रत्न चेम्जोङ रहेका छन्।
घटनामा बेहोस भएका अन्य दुई मजदुर २४ वर्षीय भिष्म चेम्जोङ र ४० वर्षीय बिरु चेम्जोङको अहिले इलाम अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार, सुरुवातमा एक जना मजदुर ट्यांकीभित्र छिरेका थिए। उनी बेहोस भएपछि बाँकी दुई जना उनलाई निकाल्न ट्यांकीभित्र पसेका थिए, तर उनीहरू पनि बेहोस भएका थिए।
घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी चौकी फाक्तेपबाट असई शेरबहादुर राईको नेतृत्वमा ६ जनाको टोली खटिएको थियो। जेसीबीको सहयोगमा तीनै जनालाई बाहिर निकालेर अस्पताल लगिएको थियो।
इलाम अस्पतालमा उपचारको क्रममा रत्न चेम्जोङको मृत्यु भएको पुष्टि गरिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।