नेपाली कांग्रेसका सात पूर्व पदाधिकारीको बैठक उपप्रधानमन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा सोमबार दिउँसो २ बजे बोलाइएको छ। नेता सिंहको संयोजनमा आयोजित यो बैठक आगामी महाधिवेशनमा छुट्टै समीकरण बनाउने उद्देश्यले विगतको छलफलको निरन्तरता हो।
बैठकमा सहभागी हुने पूर्व पदाधिकारीहरूमा विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महत छन्। यी नेताहरूले यसअघि पनि नियमित छलफल गर्दै आएका छन्।
सातै प्रदेशमा अन्तक्रिया कार्यक्रम आयोजना गर्ने तयारीबारे आजको बैठकमा थप छलफल हुने एक नेताले बताए। काठमाडौंमा पहिलो कार्यक्रम गरेर अन्य प्रदेशमा जाने योजनालाई यसअघि नै तय गरिएको थियो। ती नेताका अनुसार, “महाधिवेशनमा एकजुट भएर अघि बढ्ने र सातै प्रदेशमा अन्तक्रिया कार्यक्रम आयोजना गर्ने विषयमा आज विस्तृत छलफल हुनेछ।”