रौतहटमा सिँचाइका लागि मोटर प्रयोग गर्दा करेन्ट लागेर एक साताभित्र तीन जना किसानले ज्यान गुमाएका छन्। बुधबार मात्रै दुई फरक घटनामा दुई जनाको मृत्यु भएको छ।
माधव नारायण नगरपालिका–४ बिसनपुर्वा मानपुर निवासी ४० वर्षीय रामबाबु मुखिया खेतमा पानी पटाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए। उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा त्यहाँ उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले जानकारी दिए।
यस्तै, कटहरिया नगरपालिका–२ जमुनिया टोलका ५२ वर्षीय मोक्तार देवानको पनि खेतमा मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। उनको गरुडास्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
यसअघि, असार ३१ गते मौलापुर नगरपालिका–८ सोनरनियाका १४ वर्षीय नरेन्द्र पटेल (गोलु) पनि यस्तै घटनामा परेर ज्यान गुमाएका थिए।
यस वर्ष तराई क्षेत्रमा खडेरी परेपछि किसानहरू मोटरबाट पानी तानेर रोपाइँ गर्न बाध्य छन्। तर, विद्युतीय सुरक्षा उपायको अभावमा यसरी ज्यान जाने घटना दोहोरिइरहेका छन्। स्थानीय तह तथा सम्बन्धित निकायले यस्ता घटनाको न्यूनिकरणका लागि तत्काल उपाय खोज्नु आवश्यक देखिन्छ।