ट्रेन्डिङ

Logout

सर्लाही र मधेशका किसानलाई आकाशे वर्षाले ठूलो राहत, धान रोपाइँमा उत्साह

5.9k Shares

मधेश प्रदेशसहित सर्लाही जिल्लाका किसानहरू सोमबार परेको आकाशे वर्षाले खुसी भएका छन्। लामो खडेरीपछि आएको वर्षाले विशेषगरी चुरेवर्ती र पूर्वी भेगका किसानहरूलाई ठूलो राहत दिएको हो।

हरिपूर्वा नगरपालिका–२ का किसान बिलास रायले धान रोपाइँ गरेर सुक्न थालेको रोपालाई सोमबार परेको पानीले बचाएको बताए। उनका अनुसार रोपाइँपछि पटपट फुट्न थालेको धान अब जोगिने भएको छ।

सर्लाहीको हरिपूर्वा, ईश्वरपुर, चन्द्रनगर, लालबन्दी, हरिवन, बागमती, हरिपुर र कविलासी क्षेत्रमा सोमबार दिउँसो मेघगर्जनसहित भारी वर्षा भएको थियो। यी क्षेत्रमा किसानहरू प्रायः आकाशे पानीको भरमा खेती गर्छन्, जसका कारण वर्षाले रोपाइँमा ठूलो सहयोग पुगेको हो।

कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाका अनुसार वर्षाले बाँकी खेतमा रोपाइँ गर्न सहज भएको छ भने रोपिएको धान पनि राम्रोसँग बढ्नेछ।

बागमती सिँचाइ आयोजनाको नहर, मोटर र पम्पसेटको माध्यमबाट केही क्षेत्रलाई पानी सिँचाइमा पाइए पनि पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फका क्षेत्रहरूमा वर्षाको भर पर्ने बाध्यता छ।

लालबन्दी नगरपालिका–१६ का किसान दिलबहादुर थापाले आकाशे वर्षा नहुँदा खोला सुक्न थालेको अवस्थामा सोमबार पानी परेपछि खोलामा पानी बगेको बताए।

वर्षासँगै सर्लाही र आसपासका जिल्लामा गर्मी समेत घटेको छ, जसले गर्दा किसानहरूमा धान उत्पादनप्रति आशा र उत्साह बढेको देखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार