ट्रेन्डिङ

Logout

संयुक्त राष्ट्रसंघको इकोसकको अध्यक्षमा पहिलोपटक नेपाल, राजदूत लोकबहादुर थापाको ऐतिहासिक नेतृत्व

4.7k Shares

नेपाल पहिलोपटक संयुक्त राष्ट्रसंघको प्रमुख अंगमध्ये एक, आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा निर्वाचित भएको छ। राष्ट्रसंघका लागि न्यूयोर्कस्थित नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापाले बिहीबार संयुक्त राष्ट्र मुख्यालयमा आयोजित विशेष समारोहबीच इकोसकको अध्यक्षको रूपमा औपचारिक रूपमा कार्यभार सम्हाल्नुभयो।

समारोहमा निवर्तमान अध्यक्ष तथा क्यानडाका स्थायी प्रतिनिधि बब रेले ग्याभल (हथौडा) हस्तान्तरण गर्दै नेतृत्वको जिम्मेवारी थापालाई सुम्पनुभयो।

उद्घाटन मन्तव्यमा अध्यक्ष थापाले इकोसकलाई केवल छलफलको मञ्चमा सीमित नराखी, प्रभावकारी कार्यान्वयनका लागि उत्प्रेरक बनाउने दृढता व्यक्त गर्नुभयो। उहाँले भने, "एजेन्डाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नु अब विकल्प होइन, अपरिहार्य आवश्यकता हो।"

थापाले बहुपक्षीय प्रणालीप्रति विश्वस पुनःस्थापना, कमजोर वर्गको सशक्तीकरण, र ठोस विकास परिणाम सुनिश्चित गर्ने कुरालाई आफ्नो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो।

नेपालको नेतृत्वमा इकोसकले पाँच प्रमुख प्राथमिकतामा केन्द्रित हुने बताइएको छ:

  1. कृषि तथा खाद्य प्रणालीको रूपान्तरण

  2. विकासको लागि वित्तीय स्रोत परिचालन

  3. डिजिटल समावेशीकरण र युवाको उद्यमशीलता प्रवर्द्धन

  4. हिमताल विस्फोट जोखिम न्यूनीकरण र संवेदनशील समुदायको सुरक्षा

  5. इकोसकको ८०औं वार्षिकोत्सवको भव्य आयोजन

राजदूत थापाले यो जिम्मेवारीलाई विगत चार दशकमा नेपालको कूटनीतिक इतिहासको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सफलता भनेर वर्णन गर्नुभयो। उहाँले इकोसकको नेतृत्व नेपालको अन्तर्राष्ट्रिय विकासमा योगदान दिने गहिरो आकांक्षाको प्रतिनिधित्व भएको उल्लेख गर्नुभयो।

उहाँले सदस्य राष्ट्रहरू, संयुक्त राष्ट्र निकायहरू, नागरिक समाज र अन्य सरोकारवालाहरूलाई साझा उद्देश्यका लागि सहकार्य गर्न आह्वान गर्नुभयो।

थापाले २०३० को दिगो विकास एजेन्डालाई तीव्रता दिने, प्रभावकारी कार्यान्वयन प्रणाली निर्माण गर्ने र इकोसकभित्र समन्वय तथा सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित नेतृत्वदायी भूमिका निर्वाह गर्ने घोषणा गर्नुभयो।

इकोसकको २०२६ सत्रका लागि उपाध्यक्षहरूमा अल्जेरिया, आर्मेनिया, डोमिनिकन गणतन्त्र र स्पेन चयन भएका छन्।

नेपालको यो ऐतिहासिक अध्यक्षताले मुलुकको अन्तर्राष्ट्रिय कूटनीतिक छविलाई थप मजबुत बनाउने विश्वास गरिएको छ। साथै, यसले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू, विकास साझेदार र नागरिक समाजसँगको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक) राष्ट्रसंघका छ प्रमुख निकायमध्ये एक हो, जसले आर्थिक तथा सामाजिक क्षेत्रहरूमा सदस्य राष्ट्रहरू र राष्ट्रसंघ प्रणालीबीच समन्वय, छलफल र नीतिगत सिफारिसहरूको नेतृत्व गर्ने काम गर्दछ। हाल इकोसकमा ५४ सदस्य राष्ट्र छन्, जुन समयानुसार परिवर्तन गरिन्छ। साथै, १६०० भन्दा बढी गैरसरकारी संस्थाहरूले यससँग परामर्शदाताको हैसियत प्राप्त गरेका छन्।

राजदूत थापाले एक वर्षका लागि इकोसकको अध्यक्षता गर्नुहुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार