प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति ११:५५ बजे फ्लाई दुबईको उडानमार्फत दुबई हुँदै तुर्कमेनिस्तान प्रस्थान गर्दैछन्। साउन २० देखि २३ गते (अगस्ट ५–८) सम्म अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील देशहरूको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली जान लागेका हुन्।
उक्त सम्मेलनमा ओलीले कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्यूरोका अध्यक्षका हैसियतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै, एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता पनि उहाँले गर्नुहुनेछ। सम्मेलनमा ३२ भूपरिवेष्टित विकासशील देशका प्रतिनिधिहरूको सहभागिता रहनेछ, जसले समुद्रमा पहुँच नभएका कारण भोगिरहेका आर्थिक, भौगोलिक र व्यापारिक चुनौतीहरूबारे छलफल गर्नेछ।
सम्मेलनमा यी देशहरूको पारवहन, पूर्वाधार अभाव, उच्च व्यापार लागत तथा प्रतिस्पर्धात्मक क्षमताको विषयमा केन्द्रित छलफल हुनेछ। विश्वव्यापी बजारबाट अलग्गिएको अवस्थालाई परिवर्तन गर्न, रणनीतिक साझेदारी, नवीन समाधान र लगानीको आवश्यकता औंल्याइनेछ।
प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसद सूर्यबहादुर थापा क्षेत्री, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा. डा. दिव्या शाह, परराष्ट्र सचिव अमृत राई, उच्चपदस्थ अधिकारी, मिडियाकर्मी र सुरक्षाकर्मीहरू सहभागी छन्।
भ्रमणअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्दै भ्रमणको जानकारी गराएका थिए। भ्रमण सफल बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओली यही साउन २३ गते राति स्वदेश फर्कने कार्यक्रम रहेको छ।
पृष्ठभूमि जानकारी:
भूपरिवेष्टित विकासशील राष्ट्रहरू अन्तर्राष्ट्रिय व्यापारमा पारवहन मुलुकमा निर्भर छन्। तिनीहरूको भौगोलिक अवस्थितिका कारण यातायात लागत, ढुवानी समय र पूर्वाधारको अभावले दिगो विकास लक्ष्य प्राप्तिमा अवरोध उत्पन्न भइरहेको छ।
यसअघि सन् २०१४ मा भियनामा सम्पन्न दोस्रो सम्मेलनले ‘अल्माटी कार्ययोजना’को समीक्षा गर्दै पारवहन सहकार्य र व्यापारिक सञ्जाल विस्तारमा जोड दिएको थियो।