नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले फेरि एकपटक क्रान्ति र नयाँ प्रकारको विद्रोह आवश्यक रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शहीद स्मरण कार्यक्रमको क्रममा बोल्दै उनले देशमा प्रतिक्रियावादी शक्ति सक्रिय रहेको र त्यसको प्रतिरोध गर्न एकताबद्ध प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे।
उनले जनयुद्ध, शान्ति प्रक्रिया, संविधानसभा हुँदै अहिलेसम्मको आफ्नो निरन्तर सक्रियताका कारण फेरि पनि जनताको पक्षमा क्रान्तिको नेतृत्व गर्ने संकल्प व्यक्त गरे। प्रचण्डले भने, "म अझै पनि जिवित छु, नेतृत्वमा छु, त्यसैले फेरि क्रान्ति र विद्रोहद्वारा प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ भन्ने संकल्पसहित अघि बढिरहेको छु।"
उनले शान्ति प्रक्रियाका बाँकी कामहरू अघि बढिरहेको जनाउँदै त्यसमा पनि केही चलखेल भइरहेको दाबी गरे। उनले सबैलाई एकताबद्ध भएर सावधानीपूर्वक अघि बढ्न अपिल गरे। साथै, जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा आत्मसाथ गरेर मनाउनुपर्ने बताए। "यो कुनै अदालतमा प्रवेश गरिनुपर्ने विषय होइन," उनले प्रस्ट पारे, "जनयुद्ध राष्ट्रिय दिवसको रूपमा मनाइनुपर्छ भन्नेमा म दृढ छु।"