परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हालै भारतको उत्तराखण्डमा आएको बाढीमा हराइरहेका नेपाली नागरिकको खोजी तथा उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको जानकारी दिएकी छन्।
बाढी र पहिरोको घटनापछि केही नेपाली बेपत्ता भएको खबर सार्वजनिक भएलगत्तै सरकारले तत्कालै आवश्यक पहल थालेको उनले जनाइन्। सामाजिक सञ्जालमार्फत उनले उक्त घटनाले आफूलाई गहिरो दुःख दिएको बताउँदै, हराइरहेका नेपालीको खोजी र उद्धारका लागि भारत सरकारसँग समन्वय गर्न नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेको स्पष्ट पारिन्।
मन्त्री राणाले बाढी–पहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरिन्।
साउन २० गते उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित धराली गाउँमा आएको आकस्मिक बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। हाल खोज तथा उद्धार कार्य जारी रहेको र अहिलेसम्म जाजरकोटका १३, धादिङका ४, बर्दियाका ४ र जुम्लाका १ गरी कम्तिमा २२ जना नेपाली सम्पर्कविहीन भएको सम्बन्धित पालिकाका जनप्रतिनिधिहरूले जनाएका छन्।