संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको विषयमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनबारे सभामुख देवराज घिमिरेले छलफल सुरू गरेका छन्।
यसका लागि उनले आज बिहान ११ बजे संसद्मा रहेका राजनीतिक दलका प्रमुख सचेतकहरूसँग संयुक्त बैठक राखी राय मागेका छन्। यसअघि पनि सभामुख घिमिरेले दलका नेतासँग संवाद गरिसकेका छन् भने संसद् सचिवालयका अधिकारीहरूसँग पनि विषयमा परामर्श गरेका छन्।
विधेयकको प्रतिवेदनमा “कुलिङ पिरियड” को प्रावधान निष्क्रिय हुने खालको भाषा समावेश भएको भन्दै उठेका प्रश्नपछि गठित छानबिन समितिले गम्भीर त्रुटि भएको निष्कर्ष निकालेको थियो। समितिले यसमा संलग्न व्यक्तिको नैतिक जिम्मेवारीबारे प्रश्न उठाउँदै, प्रचलित ऐनअनुसार आवश्यक कारबाही गर्न सकिने सुझाव दिएको छ।
यही निष्कर्षको पृष्ठभूमिमा सभामुख घिमिरे सरोकारवाला पक्षसँग प्रतिवेदन कार्यान्वयनबारे छलफल गरिरहेका छन्।