भक्तपुरको चाँगुनारायण नगरपालिका स्थित १४ रोपनी ४ आना जग्गा मोहीको नाममा दर्ता गरिदिने प्रयोजनमा २४ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीको उजुरीका आधारमा अनुसन्धान गर्दै कार्यालय परिसरमै उनीहरूलाई घुस रकमसहित पक्राउ गरेको हो। अनुसन्धानका क्रममा साविक चाँगुनारायण गाविस–५ मा पर्ने १४–४–०–० क्षेत्रफलको जग्गा मोही बाँडफाँड/नामसारीका लागि सहज वातावरण बनाइदिने बहानामा मिलेमतो गरी घुस मागेको पुष्टि भएको आयोगको निष्कर्ष छ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, पूर्व योजना अनुसार घुस लिएको प्रमाणित भएकाले उनीहरूलाई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कैद सजाय र बिगोअनुसार जरिवानाको मागसहित मुद्दा दायर गरिएको हो। अख्तियारले सम्पत्ति हिनामिना तथा पद दुरुपयोगका घटनामा शून्य सहनशीलता अपनाउने र तथ्यमा आधारित कारबाहीलाई निरन्तरता दिने जनाएको छ।