ट्रेन्डिङ

Logout

लोकतान्त्रिक सेनानी वासु कोइरालाको निधन

4.6k Shares

नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, त्यागी र समाजसेवी वासु (वासुदेवशरण) कोइराला ९३ वर्षको उमेरमा भदौ ३ गते बिहान निधन हुनुभयो।

काभ्रेको खोपासीमा जन्मिनुभएका स्वर्गीय कोइराला २०१२ सालदेखि नेपाली कांग्रेसको नीति र कार्यक्रममा समर्पित रहनुभएका थिए। २०१५ सालको निर्वाचन, सुवर्ण शम्शेरको नेतृत्वको २०१८ को सशस्त्र संघर्ष, बीपी कोइरालाको आह्वानमा २०३०–३२ को सशस्त्र संघर्ष र २०४२ को सत्याग्रहमा उहाँ सक्रिय सहभागी रहनुभएको थियो। यस क्रममा लामो समय यातनापूर्ण कारावास र चार वर्षको निर्वासन जीवन पनि बिताउनुभएको थियो।

उहाँ नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र २०७१ सालमा ज्येष्ठ राजनीतिज्ञ सभाका उपाध्यक्ष समेत हुनुहुन्थ्यो। साथै, किसान आन्दोलनको नेतृत्व गर्दै नेपाल किसान सङ्घको केन्द्रीय अध्यक्षको रूपमा पनि सेवा गर्नुभयो।

शैक्षिक क्षेत्रमा उहाँले उल्लेखनीय योगदान पुर्‍याउनुभयो। काठमाडौं र सर्लाहीमा ‘नवजीवन विद्याश्रम’ नामक विद्यालय स्थापना गरी निःशुल्क पठन–पाठनको व्यवस्था गर्नुभएको थियो। हाल उहाँ सर्लाहीको जुटपानी (नवलपुर)मा वृद्धाश्रम सञ्चालन गरी वृद्ध–वृद्धाहरूको सेवामा समर्पित हुनुहुन्थ्यो। आफ्नो पार्थिव शरीर पनि बी.पी. कोइरालाको नाममा स्थापना गरिएको धरानको स्वास्थ्यविज्ञान प्रतिष्ठानलाई दान दिनुभएको थियो।

उहाँका श्रीमती मञ्जु कोइराला, छोरीहरू—मीनु र रेबिका (रश्मि) र छोरा नीरज हुनुहुन्छ।

नेपाली कांग्रेसले स्वर्गीय कोइरालाको निधनलाई पार्टीका एक अग्रज र अनुभवी नेतृत्व गुमाउनुको रूपमा व्याख्या गरेको छ। नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभयो:

"नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका पूर्व उपाध्यक्ष, नेपाल किसान सङ्घका पूर्व अध्यक्ष, नेपाली कांग्रेस सर्लाहीका पूर्व जिल्ला सभापति एवं नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, प्रजातन्त्र सेनानी वासु कोइरालाको निधनको खबरले मलाई अत्यन्त दुःखित र स्तब्ध बनाएको छ। पार्टी र भ्रातृ संस्थामा उहाँले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका सदा स्मरणीय रहनेछ। उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।"

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार