प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राज्य, व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि राजनीतिक दलहरूलाई ताकेता गरेका छन्।
प्रतिनिधिसभा बैठकअघि संसद् भवन परिसरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले सभापति पद पूर्ति विषयमा चासो व्यक्त गरेका हुन्।
प्रतिनिधिसभा नियमावलीअनुसार कुनै पनि समितिको सभापति पद रिक्त भएको १५ दिनभित्र पदपूर्ति गर्नुपर्ने व्यवस्था छ। सोही आधारमा सभामुखले दलहरूलाई आवश्यक वातावरण तयार गरी तोकिएको समयसीमाभित्र सभापति चयन गर्न आग्रह गरेका हुन्।
बैठक स्रोतका अनुसार, दलका प्रमुख सचेतक र सचेतहरूले तत्काल कुनै प्रतिक्रिया नदिई दलभित्र छलफल गरेर मात्र प्रक्रिया अघि बढाउने संकेत दिएका छन्।
संघीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियड प्रावधानबारे विवाद उठेपछि तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए। यो समिति नेपाली कांग्रेसको भागमा पर्छ तर पछिल्लो समय नेकपा एमालेले पनि यसमा चासो देखाएको नेताहरू बताउँछन्।