ट्रेन्डिङ

Logout

तीज पर्वको अवसरमा लोकतान्त्रिक महिला संघद्वारा बबरमहलमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न

10k Shares

लोकतान्त्रिक महिला संघको आयोजनामा तीज पर्वको अवसरमा आज लोसपा नेपालको केन्द्रीय कार्यालय, बबरमहलमा एक भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पार्टीका शीर्ष नेतृत्वदेखि विभिन्न भातृसंस्थाका प्रतिनिधि, पत्रकार, कलाकार र कार्यकर्तासम्मको उत्साहजनक सहभागिता देखिएको थियो ।

कार्यक्रमका विशेष अतिथि तथा लोसपा नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले महिलाको सामाजिक, सांस्कृतिक र राजनीतिक योगदानको प्रशंसा गर्दै तीजजस्ता पर्वहरूले सामाजिक एकता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने उल्लेख गरे । उनले भने, “तीज केवल नाचगानको पर्व मात्र होइन, यो महिलाको अधिकार र आत्मसम्मानको प्रतीक पनि हो।"

WhatsApp Image 2025-08-22 at 8.30.32 pm.jpeg

त्यस्तै प्रमुख अतिथि वरिष्ठ सह–अध्यक्ष सर्बेन्द्रनाथ शुक्लाले तीज पर्वले महिलाको सशक्तीकरणमा प्रेरणा दिने बताएका थिए । उनले जोड्दै भने, “यस्ता सांस्कृतिक कार्यक्रमहरूले राजनीतिक आन्दोलनलाई समेत ऊर्जा प्रदान गर्छन्। महिलाको सक्रिय सहभागिता विना सशक्त लोकतन्त्र सम्भव छैन।”

लोकतान्त्रिक पत्रकार संघका अध्यक्ष कामरेन्द्र वर्माले महिलासम्बन्धी कार्यक्रममा सञ्चारकर्मीको भूमिका उल्लेखनीय हुने बताए । उनका अनुसार, यस्ता पर्वहरूले समाजमा सकारात्मक सन्देश फैलाउँछन् ।

कार्यक्रममा लोसपा नेपालका प्रवक्ता तथा उपाध्यक्ष डा. अभास लाभले सुमधुर गीत प्रस्तुत गरी माहोल रमाइलो बनाए । साथै, उनले महिलासँग सदैव सहयात्रा गर्ने प्रतिबद्धता प्रकट गरे ।

कार्यक्रमको अध्यक्षता गर्दै लोकतान्त्रिक महिला संघकी अध्यक्ष मिनु ठाकुरले तीज पर्वलाई महिला सशक्तीकरणको प्रेरणास्रोतका रूपमा व्याख्या गरिन् । उनले भनिन्, “हाम्रो संघले महिलाका हकहितका लागि निरन्तर काम गर्दै आएको छ, र आजको तीज उत्सव त्यसको एक महत्वपूर्ण सांस्कृतिक प्रतिबिम्ब हो।”

सांस्कृतिक कार्यक्रमलाई अझ आकर्षक बनाउन गीत–संगीत र नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा महासचिव मनिष मिश्र, डा. सुरेन्द्र झा, सितल यादव, लोकतान्त्रिक युवा संघका सुजन यादव, लोकतान्त्रिक विद्यार्थी संघका अध्यक्ष रोशन मिश्रासहित विभिन्न भातृसंगठनका प्रतिनिधि, पत्रकार, महिला नेतृ तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार