सरकारले निर्धारण गरेको अनुदान रकम नदिएको भन्दै तराई–मधेशका उखु किसानहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारले बजेट अभाव देखाउँदै किसानलाई दिँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानलाई घटाएर ३५ रुपैयाँमा झारेपछि किसान आन्दोलित भएका हुन् ।
उखु उत्पादक महासंघको नेतृत्वमा कोशीदेखि सुदूरपश्चिमसम्मका करिब ५००–६०० किसान प्रदर्शनमा सहभागी भएका थिए । सिराहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीका किसानहरूले गौशालाबाट नारा–जुलुससहित माइतीघर मण्डला र बानेश्वर चोकमा प्रदर्शन गरे ।
महासंघका संयोजक श्यामबाबु रायले चिनी उद्योगहरूले किसानलाई दिनुपर्ने प्रतिक्विन्टल ५८५ रुपैयाँ तिरेको भए पनि सरकारले दिने भनिएको अनुदान अझै नपाएको गुनासो गरे । उनले भने, “सरकारले हाम्रो उखुको भाउ निर्धारण गर्छ, अनि पैसा नदिएर सुख पाउँछ ? किसान मर्दैनन् ?”
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत वर्षजस्तै प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानको प्रस्ताव मन्त्रिपरिषदमा पेस गरेको भए पनि मन्त्रिपरिषद्ले स्वीकृत नगरी रकम कटौती गरी ३५ रुपैयाँमा सीमित गरेको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा देशका १३ वटा चिनी मिलमा २ करोड १५ लाख क्विन्टल उखु बिक्री भएको छ । यसको आधारमा सरकारले किसानलाई करिब १ अर्ब ६० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको किसानहरूको दाबी छ ।