रौतहटको माधव नारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साह हत्या घटनामा संलग्न भएको आरोपमा एक संदिग्ध व्यक्ति पक्राउ परेका छन्।
प्रहरी उच्च स्रोतका अनुसार पक्राउ परेका व्यक्तिसँग रुबीको हत्यामा संलग्न हुने केही ठोस प्रमाण फेला परेको छ। एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने, “सोधपुछका लागि एक जनालाई नियन्त्रणमा लिएका छौं। हत्यामा संलग्न हुन सक्ने प्रमाण फेला परेका छन्। थप बुझ्ने र भेरिफाइ गर्ने काम भइरहेको छ।”
गत शनिबार गौर बजार जान डेराबाट निस्केकी रुबी मृत अवस्थामा सुटकेसमा प्याक गरिएको अवस्थामा फेला परेकी थिइन्।
साँझ करिब ६ बजे आमा मिथिला देवी साहलाई फोन गरेर केही सामान ल्याउन भन्नु अघि रुबी बेपत्ता भएकी थिइन्। राति उनी घर फर्किन नसकेपछि स्थानीयले संकास्पद सुटकेस सडकमा फेला परेपछि प्रहरीलाई जानकारी दिएका थिए।
गौर–सिरसिया सडकखण्ड, गौर नगरपालिका–९ मुडवालगेटमा बेवारिसे अवस्थामा सुटकेस फेला परेको थियो। आइतबार बिहान प्रहरी टोलीले खानतलासी गर्दा सुटकेसभित्र रुबीको शव भेटिएको थियो।




