दोलखाको भिमेश्वर नगरपालिका–६ रमिटेडाँडामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बैतेश्वर गाउँपालिका–३ मिर्गेका २६ वर्षीय श्याम बहादुर खत्री (सुजन) र भिमेश्वर नगरपालिका–५ माटीका २४ वर्षीय शिरिस बस्नेत रहेका छन्। शिरिस गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापति हुन् भने श्याम चरिकोटस्थित एक होटलमा कार्यरत थिए।
प्रहरीका अनुसार काठमाडौंबाट चरिकोटतर्फ आउँदै गरेको बा ५३ प ८८९९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकल गएराति करिब ९ देखि १० बजेबीच ठोक्किएका थिए।
दुर्घटनापछि गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि च्छो रोल्पा अस्पताल चरिकोट लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। यस्तै ३२४२ नम्बरको मोटरसाइकल चालक बैतेश्वर गाउँपालिका–५ का २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।