जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरुको आज अन्त्येष्टि भइरहेको छ। मृतकका परिवार र आफन्तहरूले शवयात्रा निकाल्ने तयारी गरेका छन्। शवयात्रामा सहभागीहरूले मृतकका फोटो र राष्ट्रिय झण्डा बोकेका छन् भने कतिपयले ‘नि:सन्तानलाई के थाहा जेनजीको सपना ?’ लेखिएको कपडाले शरीर ढाकेका छन्।
सरकारले आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरेपछि पीडित परिवार अन्त्येष्टि गर्न तयार भएका हुन्।
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको थियो। मृतकमध्ये धेरैजसो गोली लागेका थिए भने केहीको शव आगलागीमा जलेको अवस्थामा भेटिएको थियो। शवलाई पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइने गरिएको छ।
आज रसिक खतिवडासहितका केही मृतक युवाको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिँदैछ।
