ट्रेन्डिङ

Logout

जेनजी आन्दोलनमा मारिएकाको सम्झनामा मुलुकभर शोक दिवस, राष्ट्रिय झण्डा आधा झुकाइयो

4.1k Shares

जेनजी आन्दोलनका क्रममा प्राण गुमाएका नागरिकप्रति सम्मान प्रकट गर्न आज (बुधबार) मुलुकभर शोक दिवस मनाइँदैछ । सरकारले सार्वजनिक बिदा घोषणा गर्दै सबै सरकारी कार्यालय, शिक्षण संस्था तथा विदेशस्थित दूतावास–नियोग बन्द गर्ने निर्णय गरेको छ । साथै, मृतकको सम्झनामा राष्ट्रिय झण्डा आधा झुकाइने व्यवस्था गरिएको छ ।

गत भदौ २३ गते काठमाडौंमा सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणको मागसहित जेनजीको नेतृत्वमा भएको प्रदर्शन नियन्त्रणका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो । त्यसपछि देशव्यापी विरोध चर्किँदा थप ७२ जनाले ज्यान गुमाएको सरकारी तथ्यांकले जनाउँछ ।

ठूलो संख्यामा भएको मानवीय क्षतिपछि सरकारले मृतकलाई “राष्ट्रका शहीद” घोषणा गर्दै पीडित परिवारलाई क्षतिपूर्ति, घाइतेलाई निःशुल्क उपचार र घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय गरेको छ ।

आज देशभर श्रद्धाञ्जली सभा, दीप प्रज्वलन र मौन जुलुस कार्यक्रमहरू हुँदैछन् । काठमाडौंको टुँडिखेलमा हुने राष्ट्रिय श्रद्धाञ्जली सभामा राष्ट्रपति, प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता र सर्वसाधारण सहभागी हुने तय गरिएको छ ।

सरकारले शोक दिवसको अवसरमा नागरिकलाई संयम, शान्ति र ऐक्यबद्धताको सन्देश दिएको छ । तर, जनतामाझ भने अझै ठुलो प्रश्न छ — सुशासनको माग गर्ने नागरिकमाथि गोली चलाउनै किन पर्‍यो?

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार