मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल नियुक्त भएका छन्।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।
सोनलले ६ दलका ५७ प्रदेश सांसदको हस्ताक्षरसहित बुधवार मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।यसै दिन, काङ्ग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले जनमतका १३ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
तर, जनमतले यो दाबीलाई खण्डन गरेपछि प्रदेश प्रमुख कार्यालयले सोनललाई समर्थन गरेको स्रोतले जनाएको छ। दुवै पक्षले दाबी पेस गरेपछि प्रदेश प्रमुख कार्यालयमा तनावको स्थिति सिर्जना भएको थियो।
काङ्ग्रेस र एमालेले जनमतलाई फोडेर आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयास गरे पनि जनमतको कित्ता परिवर्तनले सोनलको पक्षमा समर्थन जुट्यो। फलस्वरूप, निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन साह ‘दीपक’ले जनमत छोडेर जनस्वाराज पार्टी (जस्वपा) मा सह-नेतृत्वमा सनाखत गरे।
सनाखतका लागि निर्वाचन कार्यालय पुगेका सिंहलाई रोक्न जनमतका नेता–कार्यकर्ताले प्रयास गरेका थिए।