वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्, जसअनुसार अधिकांश बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपमा दिइने ब्याजदर घटाएका छन्।
सार्वजनिक विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.२६ प्रतिशत विन्दुले घटेको छ। देशभर सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १४ वटाले ब्याजदर घटाउँदा औसत ब्याजदर घट्न पुगेको हो।
६ वाणिज्य बैंक—नेपाल बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, ग्लोबल आईएमई बैंक र हिमालयन बैंक—ले भने असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
संस्थागत मुद्दती निक्षेपतर्फ पनि औसत ब्याजदर ०.२२ प्रतिशत विन्दुले घटेको छ।
कात्तिक महिनाका लागि सबैभन्दा बढी ब्याजदर घटाउने बैंकहरूमा माछापुच्छ्रे बैंक र एनएमबी बैंक अगाडि छन्। यी दुई बैंकले व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेप दुवैको ब्याजदर १ प्रतिशत विन्दुले घटाएका हुन्।
ब्याजदरमा देखिएको यो गिरावटले निक्षेपकर्ताहरूको प्रतिफलमा केही असर पार्ने देखिन्छ भने कर्जाको लागत घटाउने बैंकहरूको रणनीतिलाई बल पुगेको छ।