मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आगामी कात्तिक २२ गते (शनिबार) प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। बुधबार मुख्यमन्त्री निवासमा बसेको सत्तारुढ दलको बैठकले उक्त निर्णय गरेको हो।
मुख्यमन्त्री सोनलका अनुसार सत्तारुढ गठबन्धनको बैठकले विश्वासको मतका क्रममा विपक्षी दलहरू—नेपाली कांग्रेस र नेकपा एमाले—लाई पनि समर्थन दिन आग्रह गर्ने निर्णय गरेको छ। उनले हालको सत्तारुढ गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीसमेत सहभागी रहेको जानकारी दिएका छन्।
गत असोज २९ गते जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ५५ जना सांसदको समर्थनमा सोनल मुख्यमन्त्री नियुक्त भएका थिए।
हाल गठबन्धनमा जसपा नेपालका १८, लोसपा नेपालका ८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसदको समर्थन छ। १०५ सदस्यीय प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५३ मत आवश्यक पर्छ।