सार्वजनिक शान्ति सुरक्षामा खलल पु¥याएको आरोपमा प्रहरी हिरासतमा रहेका विवादित मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई तत्काल र बिना शर्त रिहा गर्न माग गरिएको छ।
संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र बहुदलीय प्रजातन्त्र पुनःस्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रसाईंको गिरफ्तारी अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारविपरीत रहेको दाबी गर्दै उनको अविलम्ब रिहाइको माग गरेको हो।
विज्ञप्तिमा भनिएको छ, “मानवअधिकारका विश्वव्यापी मान्यताको पूर्ण पालना गर्न, अभिव्यक्ति स्वतन्त्रता तथा शान्तिपूर्ण सभा–समारोह गर्ने प्रजातान्त्रिक अधिकारको सम्मान गर्न तथा अभियन्ता दुर्गा प्रसाईंलाई बिना शर्त छोड्न सरकारलाई आग्रह गर्दछौं।”
समितिले राज्यको पछिल्लो कार्यशैलीले नागरिक स्वतन्त्रता कमजोर बनेको संकेत दिएको जनाउँदै, यस्तो असंवेदनशील कदमले समाजमा असहज परिस्थिति सिर्जना गर्नसक्ने चेतावनी दिएको छ। साथै, त्यसबाट उत्पन्न हुने सम्भावित परिणामको जिम्मेवारी सरकारकै हुने उल्लेख गरिएको छ।