बागमती प्रदेशअन्तर्गत दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा अवस्थित पशुपति चौलागाईं स्मृति अस्पतालले सीमित स्रोतसाधनका बीच पनि विशेषज्ञ तथा डायलाइसिस सेवाको विस्तार गर्दै बजेट र उपकरणको थप आवश्यकता औंल्याएको छ।
गत छ महिनादेखि नियमित डायलाइसिस सेवा सुरु गरेको अस्पतालले हाडजोर्नी, स्त्रीरोग तथा प्रसूति, बालरोग, सामान्य शल्यचिकित्सा र दन्तसम्बन्धी उपचारलगायत छ वटा विशेषज्ञ सेवा चालु गरेको छ। यससँगै अधिकांश किसिमका स्वास्थ्य सेवा एकै स्थानबाट प्राप्त हुने वातावरण बनेको छ। यो विस्तारका कारण विगतमा उपचारका लागि जनकपुर, धुलिखेल वा काठमाडौं धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै गएको छ।
अस्पतालमा अहिले १७ जना चिकित्सक दुई सत्रमा सेवा दिइरहेका छन्। डायलाइसिससहित जटिल उपचारलाई सहज बनाउन पाँच नयाँ उपकरण पनि भित्र्याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अच्युत पौडेलले बताए। करिब १८ रोपनी क्षेत्रमा फैलिएको यो अस्पतालको आफ्नै चार भवनका ५८ कोठाबाट सेवा दिइँदै आएको छ। चालु आर्थिक वर्षका लागि संघ तथा प्रदेश मिलेर ४ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
गत आर्थिक वर्षमा बागमतीका १३ प्रादेशिक अस्पतालबीच भएको समीक्षा गोष्ठीमा स्वास्थ्य सेवा, कार्यक्षमता र प्रस्तुतीकरणका आधारमा अस्पतालले ६२.६७ प्रतिशत प्राप्ताङ्क हासिल गरी छैटौं स्थान पाएको थियो।
हाल अस्पतालमा दरबन्दीका ७० र करारसहित कुल १०० कर्मचारी कार्यरत छन्। जाडो मौसममा दैनिक करिब १०० र गर्मीमा ५०० जना बिरामी सेवा लिन आउने गरेका छन्। सुलभ शुल्कमा सेवा दिनुपर्ने सरकारी अस्पताल भएकाले राजस्व कम हुने, साथै स्वास्थ्य बीमाबाट भुक्तानी समयमै नआउँदा चालु पूँजीमा चुनौती रहेको डा. पौडेलले बताए। अहिले पनि बीमाबाट करिब ४० लाख रुपैयाँ भुक्तानी बाँकी रहेको उनले जनाएका छन्।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुवास रिमालका अनुसार स्रोतसाधन अभाव पूर्ति गर्न प्रदेश सरकारसँग अनुरोध गरिएको छ। मंसिर ४ गते १२ श्ययाको आकस्मिक कक्ष सञ्चालनका लागि रूपा फाउण्डेशनमार्फत आत्मकृष्ण श्रेष्ठसँग १० लाख रुपैयाँ बराबरको सहकार्य सम्झौता भएको उनले जानकारी दिए। तर, विशेषज्ञ चिकित्सकलाई दीर्घकालीन रूपमा टिकाइ राख्न चुनौती रहेको उनको भनाइ छ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जिल्ला अस्पतालबाट प्रादेशिक अस्पतालमा स्तरोन्नति भएपछि स्वाभाविक रूपमा पूर्वाधार र उपकरण आवश्यकतामा वृद्धि भएको बताए। नयाँ भवनका लागि लिफ्ट जडान गर्न गत वर्ष विनियोजित बजेट ठेकेदारले समयमा काम नगरेपछि फ्रिज भएको र हाल पुनः बजेट प्रक्रियामा रहेको जानकारी दिए। अन्य आवश्यक उपकरणका लागि पनि चाँडै बोलपत्र प्रक्रिया सुरु हुँदैछ।
विसं २०३१ मा ‘दोलखा हेल्थ सेन्टर’का रूपमा स्थापना भएको यो स्वास्थ्य संस्था २०६६–२०७२ सम्म प्राथमिक स्वास्थ्य सेवा केन्द्रका रूपमा सञ्चालनमा थियो। कोभिड महामारीका क्रममा एमएसएफ बेल्जियमसँगको सहकार्यमा आकस्मिक तथा शल्यक्रिया सेवा सञ्चालन भएको थियो। २०७२ माघ ५ गतेको समझदारीपछि यो केन्द्र ५० श्ययामा उकासिएको हो।
२०७७ कात्तिक १५ मा न्याय हेल्थले सहयोग रोकेपछि केही महिना भीमेश्वर नगरपालिकाले जिम्मेवारी सम्हालेको थियो। त्यसपछि २०७७ मंसिर १८ को निर्णयअनुसार अस्पताल बागमती प्रदेश मातहतमा आएको हो। २०७८ फागुन ५ मा अस्पतालको नाम परिवर्तन गरी पशुपति चौलागाईं स्मृति अस्पताल राखिएको थियो। पूर्व सांसद चौलागाईंको २०७८ वैशाख २८ मा कोभिडका कारण निधन भएपछि उनको स्मृतिमा अस्पताल नामाकरण गरिएको हो।