ट्रेन्डिङ

Logout

ट्रम्पको शान्ति प्रस्तावप्रति युरोप सशंकित, पुटिनलाई युद्ध चर्काउने अवसर!

6k Shares

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले युक्रेन युद्ध अन्त्यका लागि अघि सारेको नयाँ शान्ति प्रस्तावले रुसलाई युद्ध थप तीव्र बनाउन प्रोत्साहन गर्न सक्ने आशंका व्यक्त गरिएको छ।

ट्रम्प प्रशासनको पछिल्लो पहललाई ‘सेल बे फर्म्याट’ नाम दिइएको छ। अमेरिकी विशेष दूत स्टिभ विटकफको स्वामित्वमा रहेको गल्फ कोर्स तथा विलासी आवासीय परियोजनाको नामबाट उक्त प्रस्तावको नाम राखिएको हो। यसलाई युक्रेन युद्ध समाधान गर्ने अमेरिकी प्रयासको नयाँ चरणका रूपमा हेरिएको छ।

ट्रम्पका शान्ति दूत तथा घरजग्गा व्यवसायी जारेड कुश्नरले सामाजिक सञ्जाल एक्समार्फत युरोपको दीर्घकालीन सुरक्षा व्यवस्थाका लागि व्यापक सम्झौता आवश्यक रहेको बताएका छन्। उनले विगत तीन दशकदेखि युरोप र रुसबीच स्थायी सुरक्षा संरचना निर्माण हुन नसकेको उल्लेख गरेका छन्।

राष्ट्रपति ट्रम्पले पनि ह्वाइट हाउसमा रुसी प्रतिनिधि किरिल दिमित्रिएभसँग भेट गरेपछि नयाँ सम्झौताको संकेत दिएका छन्। उनले प्रस्तावित सम्झौता युक्रेनमा मात्रै सीमित नहुने र समग्र युरोपसँग सम्बन्धित हुन सक्ने बताएका छन्।

यद्यपि, प्रस्तावको वास्तविक स्वरूपबारे युरोपेली अधिकारीहरू नै स्पष्ट हुन सकेका छैनन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि प्रस्तावबारे आफूलाई सीमित जानकारी मात्रै रहेको बताउँदै यस्तो सम्झौता सहज नहुने धारणा राखेका छन्।

कुश्नरले प्रस्तावमा स्थायी सुरक्षा परामर्श, संकटका बेला प्रभावकारी सञ्चार, सैन्य गतिविधिमा पारदर्शिता, तनाव कम गर्ने पारस्परिक उपाय तथा युरोपको दीर्घकालीन शान्ति र स्थायित्वलाई प्राथमिकतामा राखेका छन्। यस प्रक्रियामा नेटोको भूमिका पनि महत्वपूर्ण हुने उनको भनाइ छ।

तर, प्रस्तावमा रुसले छिमेकी मुलुकमाथि गरेको आक्रमण र विगतका सैन्य द्वन्द्वबारे स्पष्ट उल्लेख नगरिएको भन्दै आलोचना भइरहेको छ। यसले रुसको आक्रामक गतिविधिलाई पर्याप्त रूपमा सम्बोधन नगर्ने र युरोपको सुरक्षा संरचनामा दीर्घकालीन असर पार्न सक्ने विश्लेषण गरिएको छ।

यसैबीच, युरोपेली तथा नेटोका उच्च अधिकारीहरूले युक्रेनसँग सम्बन्धित सुरक्षा र आर्थिक विषयमा छलफल गरिरहेका छन्। आगामी साता अबुधाबीमा अमेरिका, रुस र युक्रेनबीच युद्ध समाधानका विषयमा थप वार्ता हुने तयारी छ। रुसी पक्षबाट भ्लादिमिर मेडिन्स्कीले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने बताइएको छ।

यसअघि मियामी, अबुधाबी, अलास्का, इस्तानबुल र जेनेभामा भएका विभिन्न छलफलले पनि युद्ध अन्त्यको ठोस निष्कर्ष निकाल्न सकेका छैनन्। रुसले आफ्ना युद्धसम्बन्धी माग पूरा नभएसम्म द्वन्द्व अन्त्य गर्न तयार नहुने संकेत दिँदै आएको छ।

ट्रम्पको पछिल्लो पहलले युरोपेली राजधानीहरूमा नयाँ चासो र चिन्ता पैदा गरेको छ। युक्रेनको सहमतिबिना कुनै पनि शान्ति सम्झौता अघि बढाउन नसकिने युरोपेली अधिकारीहरूको धारणा छ। युद्धका क्रममा मात्रै नभई युद्धपछिको पुनर्निर्माण र सुरक्षाका लागि पनि युक्रेनलाई युरोपेली साझेदारको सहयोग आवश्यक रहने उनीहरूको भनाइ छ।

अर्कोतर्फ, युक्रेनले आगामी हिउँदमा थप चुनौती सामना गर्नुपर्ने देखिएको छ। रुसको आक्रमणका कारण ऊर्जा, खानेपानी र सञ्चार सेवामा समस्या देखिँदै आएको अवस्थामा अमेरिकी गुप्तचर सूचना तथा प्राविधिक सहयोगमा कटौती भए युक्रेनको अवस्था थप कठिन हुन सक्ने विश्लेषण गरिएको छ। युरोपेली मुलुकहरूले पनि रुसबाट साइबर आक्रमण, तोडफोड तथा अन्य अप्रत्यक्ष सुरक्षा चुनौती बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

विश्लेषकहरूका अनुसार अमेरिकी प्रशासनले रुससँग सम्बन्ध सुधार गर्ने प्रयास गर्दा युक्रेन र युरोपको सुरक्षा चासोलाई बेवास्ता गर्न नहुने देखिन्छ। अमेरिकाले युक्रेनको पक्षमा आवश्यक सहयोग नगर्ने संकेत दिएमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यसलाई आफ्नो सैन्य रणनीति थप आक्रामक बनाउने अवसरका रूपमा बुझ्न सक्ने जोखिम छ।

ट्रम्प र कुश्नरको शान्ति सम्झौतासम्बन्धी अभिव्यक्तिले युद्ध अन्त्यको सम्भावना देखाए पनि यसले रुसलाई थप जोखिमपूर्ण कदम चाल्न प्रेरित गर्ने खतरा पनि उत्तिकै रहेको विश्लेषण गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार