काठमाडौं । विश्व फुटबलका सर्वाधिक चर्चित खेलाडीमध्ये एक क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबल करिअर अन्त्य गर्ने घोषणा गरेका छन्। ४१ वर्षको उमेरमा उनले लिएको यो निर्णयले विश्वभरका फुटबल समर्थकलाई भावुक बनाएको छ। तर प्रश्न उठेको छ– आफ्नो देशका लागि १४६ गोल र २३४ खेलको कीर्तिमान बनाएका रोनाल्डोले किन यस्तो निर्णय लिए ?
सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय करिअर सुरु गरेका रोनाल्डोले २३ वर्षसम्म देशको प्रतिनिधित्व गरे। पाँचपटक बालोन डी’ओर जितेका उनले पोर्चुगललाई सन् २०१६ को युरोपेली च्याम्पियनसिप र सन् २०१९ तथा २०२५ को युईएफए नेसन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेले।
रोनाल्डोले बिहीबार सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै राष्ट्रिय टोलीको सात नम्बर जर्सी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका छन्। उनले आफ्नो निर्णय सजिलो नभएको र यो दिमागले मात्र नभई मुटुले पनि लिएको निर्णय भएको उल्लेख गरेका छन्।
उनले सन्न्यासको ठोस कारण भने सार्वजनिक गरेका छैनन्। यद्यपि, पछिल्लो समय विकसित भएका केही घटनाक्रमले उनको निर्णय बुझ्न मद्दत गर्छन्।
१. प्रशिक्षकसँगको विवादले बढाएको दूरी
रोनाल्डोको सन्न्यास घोषणाअघि पोर्चुगलका प्रशिक्षक जोर्जे जेसुससँग उनको विवाद सार्वजनिक भएको थियो। गत सेप्टेम्बरमा नर्वेविरुद्धको खेलमा प्रशिक्षकले उनलाई मैदानमा उतारेनन्। त्यसअघि वेल्सविरुद्ध खेलेका रोनाल्डो नर्वेविरुद्ध पूरै समय बेन्चमा बसेका थिए।
रोनाल्डोका अनुसार प्रशिक्षकले उनलाई खेलको दोस्रो हाफमा मैदान प्रवेश गराउने आश्वासन दिएका थिए। उनले मैदानमा प्रवेशका लागि वार्मअपसमेत गरे। तर अन्तिम समयमा खेलाउने निर्णय परिवर्तन भयो।
यसबाट असन्तुष्ट बनेका रोनाल्डोले प्रशिक्षकले आफ्नो वाचा पूरा नगरेको आरोप लगाए। त्यसपछि उनले पोर्चुगलको प्रशिक्षण शिविर छाडेका थिए।
उनको यो कदमले राष्ट्रिय टोलीभित्रको सम्बन्धमा थप तनाव सिर्जना गर्यो। पोर्चुगल फुटबल महासङ्घले प्रशिक्षण शिविर छाडेको घटनामा उनलाई ३० दिनको निलम्बन र २५५ युरो जरिवानासमेत गरेको थियो।
यद्यपि, प्रशिक्षक जेसुसले रोनाल्डोलाई टोलीमा फर्कन स्वागत गर्ने बताएका थिए। रोनाल्डोको सन्न्यासको निर्णयमा यो विवादको प्रभाव परेको हुन सक्ने देखिए पनि उनले यसलाई प्रत्यक्ष कारणका रूपमा पुष्टि गरेका छैनन्।
२. ४१ वर्षको उमेर र लामो फुटबल यात्रा
रोनाल्डोले आफ्नो व्यावसायिक फुटबल जीवनको अधिकांश समय उच्च प्रतिस्पर्धामा बिताएका छन्। म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्टस र अहिले साउदी अरबको अल नासरबाट खेल्दै आएका उनले दुई दशकभन्दा बढी समय विश्व फुटबलमा बिताइसकेका छन्।
४१ वर्षको उमेरमा पनि उनी क्लब फुटबलमा सक्रिय छन्। तर राष्ट्रिय टोलीका लागि खेल्नुपर्ने अन्तर्राष्ट्रिय प्रतियोगिता, लामो यात्रा र निरन्तरको शारीरिक दबाबलाई हेर्दा उनले आफ्नो खेल जीवनको अर्को चरणबारे सोच्ने समय आएको हुन सक्छ।
लगातारको प्रशिक्षण, खेल र पुनःस्थापनाका प्रक्रियाले खेलाडीको शरीरमा पर्ने दबाब उमेरसँगै बढ्दै जान्छ। यस्तो अवस्थामा क्लब करिअरलाई निरन्तरता दिँदै राष्ट्रिय टोलीबाट बिदा हुने निर्णय उनले लिएका हुन सक्छन्।
३. छैटौँ विश्वकपपछि राष्ट्रिय टोलीलाई बिदाइ
सन् २००६ मा पहिलोपटक विश्वकप खेलेका रोनाल्डोले सन् २०२६ सम्म आइपुग्दा छवटा विश्वकपमा पोर्चुगलको प्रतिनिधित्व गरे। उनी छवटा विश्वकपमा गोल गर्ने पहिलो पुरुष खेलाडीसमेत बने।
सन् २०२६ को विश्वकपमा उनले तीन गोल गरेका थिए। तर पोर्चुगल अन्तिम १६ बाटै बाहिरियो। स्पेनसँग १–० ले पराजित भएपछि पोर्चुगलको विश्वकप यात्रा समाप्त भएको थियो।
विश्वकपपछि नै रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने विषयमा विचार गरेका थिए। उनले सन्न्यासको पत्रसमेत तयार पारेको बताएका छन्। तर पोर्चुगल फुटबल महासङ्घका अध्यक्ष पेड्रो प्रोएन्साले उनलाई तत्काल निर्णय नगर्न आग्रह गरेपछि उनी राष्ट्रिय टोलीमा निरन्तर रहने पक्षमा उभिएका थिए।
यसपटक भने उनले आफ्नो निर्णय सार्वजनिक गरेका छन्।
४. नयाँ पुस्तालाई अवसर दिने चाहना
रोनाल्डोले आफ्नो बिदाइ सन्देशमा राष्ट्रिय टोलीको सात नम्बर जर्सी भविष्यका खेलाडीलाई हस्तान्तरण गर्ने समय आएको बताएका छन्।
२३ वर्षसम्म आफ्नो पहिचान बनेको सात नम्बर जर्सी अब नयाँ पुस्ताले लगाउने उनको भनाइ छ। यसले पोर्चुगलको राष्ट्रिय टोलीमा नयाँ पुस्तालाई नेतृत्व र जिम्मेवारी हस्तान्तरण गर्ने उनको चाहना पनि देखाउँछ।
रोनाल्डोले आफ्नो करिअरका क्रममा पोर्चुगलका लागि थुप्रै युवा खेलाडीसँग खेलेका छन्। अब उनी मैदानमा खेलाडीका रूपमा नभए पनि आफ्नो अनुभव र योगदानमार्फत पोर्चुगिज फुटबलसँग जोडिइरहन सक्छन्।
५. राष्ट्रिय टोलीको जिम्मेवारीबाट विश्राम लिँदै क्लब फुटबलमा निरन्तरता
रोनाल्डोको सन्न्यासलाई उनको सम्पूर्ण फुटबल करिअरको अन्त्यका रूपमा बुझ्नु हुँदैन। उनले सन्न्यास घोषणा गरेको राष्ट्रिय टोलीबाट मात्रै हो।
उनी साउदी अरबको अल नासरबाट क्लब फुटबल खेलिरहेका छन्। राष्ट्रिय टोलीका लागि खेल्नुपर्ने जिम्मेवारीबाट मुक्त भएपछि उनले आफ्नो बाँकी खेल जीवन क्लब फुटबलमा केन्द्रित गर्न सक्नेछन्।
उनको अर्को व्यक्तिगत लक्ष्य करिअरमा एक हजार गोल पूरा गर्नु पनि हो। त्यसैले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिए पनि मैदानमा रोनाल्डोको यात्रा तत्काल समाप्त हुने छैन।
२३ वर्षमा बनाए ऐतिहासिक कीर्तिमान
रोनाल्डोले पोर्चुगलका लागि २३४ अन्तर्राष्ट्रिय खेल खेल्दै १४६ गोल गरेका छन्। पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल र सर्वाधिक गोल गर्ने कीर्तिमान उनकै नाममा छ।
उनको कप्तानीमा पोर्चुगलले सन् २०१६ मा पहिलोपटक युरोपेली च्याम्पियनसिप जितेको थियो। त्यसपछि सन् २०१९ र २०२५ मा नेसन्स लिगको उपाधि पनि जित्यो।
उनले आफ्नो बिदाइ सन्देशमा पोर्चुगलको प्रतिनिधित्व गर्न पाउनु जीवनकै ठूलो सम्मान भएको बताएका छन्। राष्ट्रिय टोलीसँगको यात्रालाई सम्झँदै उनले खेल, गोल र उपाधिभन्दा पनि समर्थकसँगको सम्बन्ध आफ्नो जीवनको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्।
रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिए पनि उनको नाममा रहेका कीर्तिमान र पोर्चुगलका लागि पुर्याएको योगदान लामो समयसम्म फुटबल इतिहासमा सम्झिइरहनेछन्।
रोनाल्डोको २३ वर्षे अन्तर्राष्ट्रिय यात्रा समाप्त, पोर्चुगलको जर्सीलाई भने बिदाइ!